Advertisement
![]() |
बसमा यात्रा गर्दा ठूलो त्रास, एम्बेसीहरूमा सयौंको संख्यामा नेपाली सुरक्षा गार्ड
प्रत्यक्षदर्शी दुर्गा उप्रेती
काठमाडौं, असार– मेरो नाम दुर्गा उप्रेती । घर विराटचोक, मोरङ । अफगानिस्तानको राजधानी काबुलमा रहेको ब्रिटिस राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गर्छु । हाम्रा नेपाली साथीहरू चढेको बसमा हिजो आक्रमण भयो । आक्रमणमा १४ नेपाली मारिएको भनेर यहाँका पत्रपत्रिकाले लेखेका छन् ।
नेपाल सरकारले १२ जना नेपाली मारिएको बताइरहेको छ । संख्या कसरी फरक पर्यो थाहा छैन । तर मुख्य कुरा, हिजोको आक्रमणमा परी मेरो नजिकका दुईजना साथीले ज्यान गुमाए । सुकबहादुर गुरुङ र हरिबहादुर बडुवाल क्षेत्री मसँगै काम गरेका साथीहरू हुन् । पहिला उनीहरू मसँगै ब्रिटिस एम्बेसीमा काम गर्थे । पछि उनीहरू क्यानेडियन एम्बेसीमा काम गर्न गएका हुन् । हुन त अरू पनि नेपाली दाजुभाइ नै हुन् ।
खासमा जुन बसमा आक्रमण भयो, हामी त्यो बसभन्दा करिब एक पाँचसय मिटर जति पछि थियौँ । आक्रमणको आवाज सुन्यौँ । एकैछिनमा भीडभाड भयो । हामीलाई धेरैबेर त घटना घटाइएको स्थानमा गाडी रोकेर बस्न दिइएन । तर हामी घटनास्थल पुग्दा सुरक्षाकर्मीहरूले शव र घाइते भएकाहरूलाई बाहिर निकालिरहेका थिए । दुईजना घाइते नेपालीहरूको शरीरबाट बेस्सरी रगत बगिरहेको थियो । त्यो देखेर हामी सबै स्तब्ध भयौँ । हामी त्यहीँ रोयौँ । म लगायत अरू साथी पनि रोए ।
आँखा अगाडि ध्वस्त पारिएको बस, हाम्रै दाजुभाइको क्षतविक्षत शव र घाइतेहरू देख्दा मुटु छियाछिया भएको छ । निकै दुःखी बनाएको छ । चिनेजानेकै साथीहरू मारिएका छन् ।
म लगायत ३ सय नेपालीहरू यहाँ रहेको ब्रिटिस एम्बेसीमा काम गर्छौँ । काबुलमै रहेको अमेरिकन एम्बेसीमा पनि करिब पाँचसयजना जति नेपाली साथीहरू सुरक्षा गार्डको रूपमा काम गर्छन् । त्यस्तै यहाँ एउटा आइडिजी भन्ने संयुक्त राष्ट्रसंघलाई सुरक्षा दिने कम्पनी छ । त्यसमा थुप्रै नेपालीहरू सुरक्षा गार्डको रूपमा काम गर्छन् ।
हिजोको घटना पछि म लगायत सबै त्रसित छौँ । डरमा छौँ । कुनै पनि बेला जे पनि हुनसक्छ यहाँ । हामीहरूलाई बिहान बेलुका क्याम्पमा बस्न दिइन्छ । म बस्ने क्याम्पबाट ब्रिटिस एम्बेसी पुग्न १५ मिनेट समय लाग्छ । क्याम्पमा बस्न र एम्बेसीभित्र प्रवेश गरिसकेपछि सुरक्षाको खासै चिन्ता हुँदैन । तर बाटोमा जाँदा चाहिँ निकै डर लाग्छ । हिजोको घटनापछि त झनै डर लाग्न थालेको छ । बाटोमा हामीलाई समस्या भयो ।
म लगायत अन्य साथीभाइ पनि यस्तै डरको कुरा गर्छन् । अहिलेसम्म त यहाँको सरकारले बाटोमा कसरी सुरक्षा दिने बारे केही बताएको छैन । हिजोको घटनापछि अब कसरी सुरक्षा दिन्छ, त्यो हामी कुरेर बसेका छौँ । लोकान्तर मार्फत म मेरो परिवारलाई सुरक्षित रहेको बताउन चाहन्छु ।
श्रोत : (काबुलस्थित ब्रिटिस राजदूतावासमा कार्यरत उप्रेतीसँग लोकान्तरले टेलिफोनमा गरेको कुराकानीमा आधारित)
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...