Advertisement
![]() |
असार ८ – युरोकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेन पराजित भएको छ । मंगलबार राति भएको खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको स्पेन समूह डीको उपविजेतामा सीमित भयो ।
क्रोएसिया भने समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । खेलमा अग्रता भने स्पेनले लिएको थियो । सातौं मिनेटमा नै अल्भारो मोराटाले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
४५ औं मिनेटमा क्रोएसियाका निकोला कालिनिकले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । युरोकपमा सात सय ३५ औं मिनेटमा स्पेनले पहिलो गोल खाएको हो ।
दोस्रो हाफमा दुवै टिमले गोल गर्ने केही राम्रा मौका बनाए । अन्तिमको तीन मिनेट बाँकी हुँदा क्रोएसियाले महत्वपूर्ण गोल गर्न सक्यो । ८७ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।
यो जितले क्रोएसिया स्पेनलाई पछि पार्दै समूह विजेता बन्यो । दुई खेलमा जित र एकमा बराबरी गरेको क्रोएसियाको सात तथा दुईमा जित तथा एकमा हार व्यहोरेको स्पेनको ६ अंक भएको छ ।
स्पेनले अघिल्ला दुई खेलमा चेक रिपब्लिकलाई १–० तथा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै टर्कीलाई १–० ले हराएको क्रोएसिया चेक रिपब्लिकसँग २–२ को बराबरीमा रोकिएको थियो ।
स्पेन युरोकपका पछिल्ला १४ खेलमा अपराजित थियो । तर १५ औं खेलमा पराजित भयो । यसअघि स्पेन युरोकपमा सन् २००४ मा पोर्चुगलसँग पराजित भएको थियो ।
बलमा नियन्त्रण स्पेनको बढी रहे पनि गोल गर्ने सुन्दर मौका सदुपयोग गर्दै क्रोएसियाले आफूलाई विजेता बनायो । स्पेनले अब अन्तिम १६ मा आउँदो सोमबार इटालीसँग खेल्ने छ ।

Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...