Advertisement
![]() |
५ असार, काठमाडौं । मान्छेलाई तनाव किन हुन्छ ? धेरैलाई लाग्छ, जब कुनै समस्याले घेर्छ अनि तनाव हुन्छ । जस्तै बिमारी, आर्थिक संकट, बेरोजगारी, देशको दुरावस्था आदि ।
तर, तनावको स्रोत यी मात्र होइनन् । कमैलाई थाहा छ, हामीले खाने खानेकुरा पनि तनावको स्रोत बन्न सक्छन् । विशेषगरी बजारीया खानेकुराहरु । त्यसैले दैनिक आहारमा विशेष ध्यान दिनसके मात्र पनि तनाव कम गर्न सकिने पोषणविद् डा. भुपाल बानिया बताउँछन् ।
डा. बानियाका अनुसार दैनिक चाउचाउ, कुरकुरे, चिजबल लगायतका जंक फुडको प्रयोगले हाम्रो शरीरमा तनाव उत्पन्न गराउँछ । सामान्यतथा जंक फुड भनेको आपतकालीन अवस्थामा खाने हो । कहिँ हिड्दा, हतारको समयमा यस्ता खानेकुरा प्रयोग गरिन्छ । त्यसैगरी फोहोर र बासी खाना, फोहर भाँडोबाट बच्नको लागि यस्ता खानाको प्रयोग गरिन्छ ।
जंकफुडमा सोडियम लेभल, कोलेस्ट्रोल र स्याचुरेटेड फ्याट उच्च हुन्छ । त्यसैगरी भिटामिन्स, मिनिरल्स लगायतका माइक्रो न्युटि्रयन्स कम हुन्छ । यसले शरीरको तौल बढाउनुका साथै शरीरमा दिर्घकालीन रोगहरु निम्त्याउने गर्दछ ।
विशेषगरी बालबालिकालाई दैनिक जङ्क फुड दिएको खण्डमा यसमा पाइने तत्वका कारण उनीहरुमा बिस्तारै-बिस्तारै तनाव सिर्जना गर्दै जान्छ । यसबाट बच्नको लागि पनि बालबालिकालाई भएसम्म घरैमा बनाएको खाजा पठाउनु उचित हुने पोषणविद्को ठहर छ ।
डा. बानियाका अनुसार नुन, तेल र मसलाको अधिक प्रयोगले हामीलाई शारीरिक र मानसिक रुपमा असर गर्छन् । बढी मात्रामा नुनको सेवनले शरीरमा उच्च रक्तचापको जोखिम निम्त्याउँछ । त्यसैगरी बढी मात्रामा चिल्लो पदार्थको प्रयोग, बारम्बार एउटै तेल प्रयोगले ग्याष्ट्रिकको समस्या बढाउनुका साथै पाचन प्रकृयामा प्रत्यक्ष असर पार्दछ । त्यस्तै क्यान्सर, मृगौला लगायतका दिर्घकालीन समस्या निम्त्याउनुका साथै यिनीहरुले दिमागमा तनाव सिर्जना गर्दछन् ।
यसबाट बच्न फलफुल, हरिया सागपात, सलाद, हाडे बदाम लगायतका खानेकुरा दैनिक रुपमा आफ्नो खानामा समावेश गर्नु पर्ने पोषणविद् सुझाउँछन् । डा. बानिया भन्छन्, ‘यी खानेकुरामा एन्टी अक्सिडेन्ट नामक तत्व पाइनुका साथै भरपुर फाइवर पाइन्छ । यसले दिमागलाई ताजा राख्नुका साथै तनाव घटाउन कम गर्दछ ।’
यसबाहेक हामीले दैनिक प्रयोग गर्ने खानामा केही ध्यान दिएको खण्डमा पन तनाव कम गर्न सक्छौं ।
जस्तै: दुध हालेको चियाको प्रयोग कम गर्ने । दुध चिया आफैंमा ग्याष्ट्रिकको खानी हो । यसले हाम्रो शरीरमा क्यालोरीको मात्रा बढाउनुका साथै ग्याष्ट्रिक बढाउँछ । साधारणतया एक कप दुध चियामा ५० देखि ६० क्यालोरी पाइन्छ ।
तौल घटाउने नाममा यदि हामीले अरु खानाको सट्टा दैनिक ५/६ कप मात्र दुध चियाको सेवन गरे पनि यसले शरीरलाई दैनिक ३०० देखि ४०० क्यालोरी उपलब्ध गराउँछ । जसले मानिसको तौल घटाउनुका सट्टा उल्टै बढाएर विभिन्न रोग निम्त्याउँछ ।
त्यसैगरी एक पटक प्रयोग गरेको चियापतीलाई बारम्बार उमालेर खाएमा त्यसले क्यान्सर लगायतका दिर्घकालीन रोगहरु निम्त्याउँछ । चटपटे, भुटन लगायत नुन, तेल अधिक मात्रामा प्रयोग भएको खानाले शरीरमा विभिन्न खाले समस्या निम्त्याउँछ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...