Advertisement
![]() |
काबुल आक्रमणमा ज्यान गुमाएका मधुसूदन कोइरालाका ५ छोरी जन्मिए, पछि एउटा छोराको जन्म भयो तर त्यही छोरा र अर्की एक छोरी वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण घरले थिचेर बिते । पाँच छोरी पछि एक छोरा जन्मिदा मधुसूदनको परिवारमा कम्ता खुसी थिएन । तर त्यो खुसी वैशाख १२ गतेको भूकम्पको धक्काले धुमिल बनाइदियो । पीडाका बीच ज्यान हत्केलामा राखेर बाँकी ४ छोरीको उज्ज्वल भविष्यका लागि संघर्ष गर्दा गर्दै मधुसूदनले पनि संसार छाडेका छन्, अफगानिस्तानको भूमिमा ।
पाँच वर्षअघि दलालको चिल्ला कुरामा विश्वास गरेर अवैधानिक बाटो हुँदै मधुसूदन अफगानिस्तानको काबुल पुगेका थिए । नुवाकोटको कल्याणपुर गाविस वडा नम्बर १ ढाँडेका स्थानीयवासी मधुसूदन पाँच वर्षको बीचमा दुईपटक स्वदेश फर्किएको उनको दाइ अर्जुनप्रसाद कोइराला बताउँछन् । पहिलोपटक तीन वर्षअघि नेपाल आएर फेरि उतै फर्किएका उनी गत वर्षको भूकम्पमा परेर ८ वर्षीय छोरा सविन र १० वर्षीया छोरी स्वस्तिकाको मृत्यु हुँदा पनि फर्किन पाएनन् । तर, मृतक छोरा र छोरीप्रति समर्पित गर्दै उनले एउटा गीत समेत गाएका थिए । तिनै सन्तानको निधनले विक्षिप्त बनेका उनी बल्लतल्ल छुट्टी मिलाएर वार्षिक पुण्यतिथिको अवसर पारेर डेढ महिना अघि नेपाल आएका थिए । त्यतिबेला दुई साता नेपाल बसेर अफगानिस्तान फर्किएका उनी अब कहिल्यै नेपाल नफर्किने गरी बिदा भएका छन् ।
सोमवार बिहानैदेखि काबुलस्थित क्यानेडियन कम्पनीमा कार्यरत सुरक्षा गार्ड आतंककारी हमलामा मारिएको खबर एकाएक फैलियो । सोही कम्पनीमा मधुसूदन पनि कार्यरत रहेको थाहा पाएसँगै परिवारले सोधखोज थाल्यो । उता सम्पर्क गर्दा सम्पर्क भएन । उसैपनि असुरक्षाका कारण यसअघि पनि आक्कलझुक्कलमात्रै मधुसूदन र परिवारबीच कुरा हुन्थ्यो । अन्यौलकै बीच अपराह्न परराष्ट्र मन्त्रालयले मधुसूदनको पनि नाम समावेश गरेपछि मधुसूदन परिवारको छट्पटी वज्रपातमा परिणत भयो ।
मधुसूदनको आतंककारी हमलामा निधन भएको भोलिपल्ट सम्पर्कमा आउनु भएका दाइअर्जुन प्रसादले भाइबारे यस्तो बताउनु भयो :
परिवारमा हामी तीन दाजुभाइ थियौं । अफगानिस्तानको घटनामा परेका मधुसूदन माइला भाइ हुन् । हामी वर्षौं पहिले छुट्टाभिन्न भएपनि कहिल्यै परिवारबाट अलग भएको अनुभव भएन । गाउँमा जोडेर बनाएको घर थियो, जुन भूकम्पले ढाल्यो ।
घर नढल्दासम्म भाई (मधुसूदन)को परिवार र हामी गाउँ (ढाँडे कल्याणपुर गाविस वडा नम्बर १) मा सँगै बस्यौ । भुकम्पमा छोरा र कान्छी छोरी स्वस्तिकाको घरले थिचेर बिते ।
पाँच छोरी पछि छोराको जन्म भएको थियो । तर त्यही ८ वर्षका छोरा र १० वर्षकी कान्छी छोरी बितेको वर्ष दिन बित्न नपाउँदै भाई बितेको खबर आएको छ । कस्तो वज्रपात आइलाग्यो यो ।
ठ्याक्कै तिथि मितिको याद त छैन तर त्यस्तै पाँच वर्षअघि भाई अफगानिस्तान गएको हो । तीन वर्षअघि एक पटक नेपाल आएर फेरि अफगानिस्तान फर्कियो ।
अहिले फेरि एक डेढ महिनाअघि ऊ छोरा छोरीको वार्षिकीको बेलामा नेपाल आएको थियो । त्यतिबेला त्यस्तै दुई हप्ताजति बसेर ऊ फर्कियो । हामीले त त्यस्तो खतरनाक ठाउँमा नजा भनेर बारम्बार भनेका हौं । उसले मानेन ।
भूकम्पपछि गाउँमा घर भएन । मेरो परिवार र कान्छो भाई नरहरीको परिवार सानो तिनो टहरो बनाएर यही बस्यौं । भाईको आयस्रोत पनि भएको र काठमाडौंमा घर बनाउने तयारी पनि चलेकाले बुहारी चार छोरीलाई लिएर काठमाडौं गइन् ।
घर ढलान गर्ने दिन मृत्युको खबर !
भूकम्पपछि काठमाडौंमै बसेपनि बुहारी गाउँमा पनि आउजाउ गरिरहन्थिन् । परिवारमा राम्रो थियो । भाईको अफगानिस्तानमा राम्रै कमाई भइरहेको बताउँथिन् । भूपू आर्मी हो भाई । आर्मी हुँदा बचाएको पैसा र अफगानिस्तानमा कमाएको पैसाले अगाडि नै जग्गा किनेको थियो । सोहि जग्गामा घर बनाउन सुरु भयो काठमाडौंमा । घटना भएको दिन (सोमबार) घर ढलान गर्ने योजना थियो ।
डेढ महिना अघि ऊ अफगानिस्तान फर्किँदा कारणबस म घर बाहिर भएकाले भेट हुन सकेन । तर भेट हुँदा उसले ज्यान जोगाउन निकै मुस्किल छ अफगानिस्तानमा भन्थ्यो ।
त्यस्तो हो भने नजा तँलाई के नपुग्दो छ र भनेर मैले बारम्बार भन्ने गर्थे । तर मान्छे पैसामा नै निर्भीक हुने रहेछन् । (भावुक हुँदै) यस्तो अवस्थामा मलाई बोल्न पनि अप्ठ्यारो छ ।
आमा बेहोश, छोराछोरीमा रुवाबासी
बाआमालाई बुढ्यौलीले छोइसकेको छ । म आफैं ५० वर्ष भइसके । मेरो र भाई (मधुसूदन)को ४ वर्षको फरक छ । घटना घटेको थाहा पाएसँगै कान्छो भाई नरहरी र बा काठमाडौं जानु भएको छ । आमा भाईको निधनको खबरले बारम्बार बेहोस् भइरहनु भएको छ । म उहाँसँगै छु ।
बुहारी र छोरीहरुसँग हिजो कुरा भएको थियो । रोइरहेका छन् । बुहारी पनि बेहोश भएकी छन् भन्ने सुनेको छु । यो पीडाको अवस्थामा के गर्ने के नगर्ने निकै मन रोएको छ ।
भाई अवैधानिक बाटो हुँदै अफगानिस्तान गएको हो । यत्ति तिरेर गएको हो भन्ने त थाहा छैन तर निकै धेरै पैसा दलाललाई बुझाएर गएको भन्ने सुनेको छु । तर त्यहाँ खतरा भएपनि कमाई भने राम्रै गरेको थियो भन्ने सुनेको थिए । छुट्टाभिन्नै भएकाले सबै राम्रो भएपनि आर्थिक विषयमा त्यतिधेरै कुरा हुने कुरा पनि भएन ।
हामी तिन भाईमध्ये गाउँघरमा उसैको चर्चा हुन्थ्यो । गाउँ घरमा सबैले मान्थे । कसैको मन दुखाउने काम गरेको थिएन।
सरकार ! लास ल्याइदेऊ !
देशमा भद्रगोलको अवस्था छ । यही अवस्थाले गर्दा जोखिम देख्दा देख्दै बच्चाहरुको उज्वल भविष्यका लागि अफगास्तिान पुगेको भाई बितेको छ । राज्यले केहि गर्ला भन्ने आश त छैन । गर्छ नै भने बच्चाहरुको लागि केही गरिदिए हुन्थ्यो ।
त्यो भन्दा अघि लाश नेपाल ल्याउने व्यवस्था चाँडो मिलाइदिए हुन्थ्यो (उहाँले टेलिफोनमा यसो भनिरहँदा बोल्दै नसक्ने गरी गला अवरुद्ध पार्नुभयो) ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...